काठमाडौं । देशमा आएको प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आज सातै प्रदेशमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
सातै प्रदेशमा रहेको बैंकका शाखा कार्यालयहरुमा भएको रक्तदान कार्यक्रममा ३२१ पिन्ट रगत संकलन भएको छ ।
यसअघि पनि विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ साथै प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको ४० लाख ८० हजार ५० पचास रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको थियो ।
त्यसैगरी, बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोग स्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ व्याग समेत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई हस्तान्तरण गरेको थियो ।
प्राकृतिक विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंकले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, सम्पर्कविहीन नागरिकहरुहरुको शीघ्र उद्धार तथा घाइतेहरुको स्वास्थ लाभको कामना गर्दै विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेको छ ।
प्रभु बैंकले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा समुदायको राहत उद्धार र पुनर्स्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।