भोटेकोशी बाढीपीडितका लागि प्रभु महालक्ष्मी लाइफको ५१ लाख सहयोग

  • मिति : भदौ १७, २०८३
242 Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

कम्पनीकी सञ्चालक समिति अध्यक्ष संझना अर्याल, सञ्चालक समिति सदस्यहरू वीरेन्द्रजंग पाण्डे र शम्सेर पराजुली तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले संयुक्त रूपमा अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण गरेका थिए।

भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत र दीर्घकालीन पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ताको शीघ्र खोजी र घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ।

साथै, विपद्को समयमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति कम्पनीले आभार व्यक्त गरेको छ।