सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

  • मिति : भदौ १६, २०८३
429 Shares

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको आकस्मिक बाढी तथा प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुःख व्यक्त गरेको छ।

विपद्का कारण ज्यान गुमाउनेहरूप्रति कम्पनीले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, सम्पर्कविहीन रहेका व्यक्तिहरू सकुशल भेटिन सकून् भन्ने कामना गर्दै उनीहरूका परिवारप्रति सहानुभूति व्यक्त गरेको छ।

विपद्बाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिटिजन लाइफले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कम्पनीका अनुसार उक्त सहयोग रकममा सिटिजन लाइफका सिटिजन लिडर्सबाट १८ लाख ६७ हजार रुपैयाँ र कर्मचारीबाट २१ लाख ३३ हजार रुपैयाँ योगदान रहेको छ।

सहयोग रकम सिटिजन लाइफका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव दिप बहादुर बी.सी. ले नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

कम्पनीले विपद्को कठिन घडीमा ‘हामी सबै एकसाथ छौँ’ भन्ने भावनाका साथ उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह, स्वयंसेवक तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गरेको छ।सिटिजन लाइफले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि आगामी दिनमा समेत आफ्नो तर्फबाट सक्दो सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।