काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन मागेको छ ।
अर्थ मन्त्रालयले सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन पेश गर्न आह्वान गरेको हो । इच्छुक उम्मेदवारले साउन २६ गते कार्यालय समयभित्र सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन बुझाउनुपर्नेछ ।
मन्त्रालयका अनुसार अर्थशास्त्र, वाणिज्य, वित्त, व्यवस्थापन, सूचना प्रविधि, कानून वा सम्बन्धित विषयमा स्नातकोत्तर, चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सोसरहको योग्यता हासिल गरी पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनमा कम्तिमा १५ वर्षको अनुभव तथा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् ।
आवेदकको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार लगायत नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको तथा कानुनी रूपमा अयोग्य नभएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
आवेदनसँग आवश्यक शैक्षिक तथा अनुभवसम्बन्धी कागजात, स्वघोषणा, दुई प्रति पासपोर्ट साइजका फोटो, तीन प्रति खामबन्दी व्यावसायिक कार्ययोजना र ५ हजार रुपैयाँ राजस्व तिरेको सक्कल भौचर अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।
सीईओको सेवा–सुविधा नेपाल सरकारले तोकेबमोजिम हुने मन्त्रालयले जनाएको छ ।