काठमाडौं : कैलालीको गोदावरी नगरपालिका–३ मा गोदावरी नदीले बगाएको एक महिलाको शव फेला परेको छ भने अर्की महिला बेपत्ता छिन् ।
शुक्रबार बिहान आएको बाढीले गोदावरी नगरपालिका–४ बस्ने ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदलाई बगाएको थियो । धमलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक भेटिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बाढीमा बगेकी कल्पनाको अवस्था अज्ञात छ ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब पौने ७ बजेतिर नदीमा एक्कासी आएको बाढीले महिलाजस्ता देखिने दुई जनालाई बगाएको भन्दै गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट टोली घटनास्थलतर्फ खटिएको थियो ।
दुवै महिला शुक्रबार बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्न भनेर घरबाट निस्किएका थिए । त्यसक्रममा खोलामा आएको बाढीले उनीहरूलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।