नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन् : सांसद ओली

  • मिति : जेष्ठ १९, २०८३
293 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले रास्वपाका सांसदहरुलाई लक्षित गर्दै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको आरोप लगाएकी छिन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हिजोसम्म नेपाल एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको बताइन् ।

उनले भनिन्,‘हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिडेका छन् । त्यो भन्दा दुखद् विषय अरु केही हुँदैन् । प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ ।’

उनले प्रधानमन्त्रीको अभिव्यक्ति केवल व्यक्तिगत भनाइ नभई राज्यको सर्वोच्च पदबाट आएको भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताइन् । ‘प्रधानमन्त्री व्यक्ति होइन, संस्था हो । राज्यको सर्वोच्च संस्थाबाट आएको फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढाउँछ,’ उनले भनिन् ।

उनले यस्तो विषयलाई सामान्यीकरण गरेर टार्न नहुने बताउँदै नेताहरूको अभिव्यक्ति बचाउन राष्ट्रकै दाबी कमजोर पार्ने गतिविधि नगर्न आग्रह गरिन्।

उनले भनिन्,‘देशको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान बहसका विषय हुन सक्छन्, तर नेताको एउटा अभिव्यक्तिलाई बचाउन आफ्नो राष्ट्रकै दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन ।’

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भनेर राखेको अभिव्यक्तिमा रास्वपाले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरे ।

उनले भने,‘प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भनेर राखेको अभिव्यक्तिमा रास्वपाले आफ्नो धारणा पनि सार्वजनिक गर्न माग गर्छु ।’
संसदको रेकर्डबाट उक्त भनाई हटाएर प्रधानमन्त्री आएर फेरी सम्बोधन गर्नु पर्ने उनले बताए ।