“विश्व वातावरण दिवसमा कृषि विकास बैंकद्वारा देशभर वृक्षारोपण, प्लाष्टिक प्रदूषण न्यूनीकरणमा जोड”

1.8K Shares

काठमाडौँ । विश्व वातावरण दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रमहरूसहित मनाइएको छ। वातावरण संरक्षण र प्लाष्टिक प्रदूषण न्यूनीकरणमा सन्देश दिने उद्देश्यसहित देशभर जनस्तरमा विभिन्न क्रियाकलाप सञ्चालन भइरहेका छन्।

यसै अवसरमा कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ७७ वटै जिल्लामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकको मुख्य कार्यालयले काठमाडौं महानगरपालिका–१६ स्थित समर्पणवस्ती सुधार समितिसँग सहकार्य गर्दै वर, पीपल, समी, आँप, लिची, पेन धुपी, मयुर धुपी लगायतका बोटबिरुवा रोपेको छ।

कार्यक्रममा बैंकका उप–महाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने र सुदिप कुमार दाहाल, विभागीय प्रमुख सरीता दाहाल, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल र प्रकाश अर्याल, कर्जा सहायक सन्देश भण्डारी, साथै समर्पणबस्ती सुधार समितिका अध्यक्ष टुकनाथ ढकाल लगायतको उपस्थिति रहेको थियो।

यस वर्षको विश्व वातावरण दिवसको नारालाई संयुक्त राष्ट्रसंघले ‘प्लाष्टिक प्रदूषणलाई हराउनुहोस्’ भनेको छ भने नेपाल सरकारले ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नारासहित मनाउँदै आएको छ।

सरकारसहित विभिन्न संघसंस्थाहरूले प्लाष्टिकजन्य वस्तुको प्रयोग घटाउने र वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले सचेतनामूलक कार्यक्रम गर्दै आएका छन्। विश्व वातावरण दिवसका माध्यमबाट पृथ्वीको सन्तुलन र दिगो भविष्यका लागि जनचेतना अभिवृद्धि गर्ने प्रयास भइरहेको छ।