जसपा नेपालबाट कीर्तिपुरको मेयर र वडा अध्यक्षमा तेस्रो लिङ्गी उम्मेदवार

1.9K Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा २ जना तेस्रो लिङ्गी महिलालाई उम्मेदवार बनाउने भएको छ। कीर्तिपुर नगरपालिकाको मेयर र वडा नं ४ को अध्यक्षमा तेस्रो लिङ्गीलाई उम्मेदवार बनाउने निर्णय जसपा नेपालले गरेको हो।

राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समावेशिता र प्रतिनिधित्वको आवाज उठाउँदै आएको मायाको पहिचान नेपालको पहलमा जसपा नेपालले उम्मेदवारी दर्ताका लागि पार्टीको आधिकारिक पत्र शुक्रवार प्रदान गरेको छ।

जसपा नेपालले अरू राजनीतिक दलहरूलाई चक्मा दिँदै तेस्रो लिङ्गी उम्मेदवारलाई मैदानमा उतार्ने निर्णय गरेको जनाएको छ। तेस्रो लिङ्गी महिला एवं कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हनि महर्जन र स्वयंसेवी मौनी महर्जनले जसपा नेपालबाट उम्मेदवारी दर्ता गर्ने आधिकारिक पत्र बुझेका छन्।

जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले काठमाडौँ जिल्ला अध्यक्ष विक्रम पौडेल, मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे, नेपालमा दोस्रो पटक भएको मिस्टर गे हेन्डसमका उपाधि विजेता मनिन्द्र सिं दनुवारलाई साथै राखेर हनि र मौनीलाई उम्मेदवार दर्ता गर्ने पार्टीको आधिकारिक पत्र हस्तान्तरण गरे।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई नेतृत्व र प्रतिनिधित्व गरेर हनि र मौनीले उम्मेदवारी घोषणा गर्ने उनले बताए। हनि तेस्रो लिङ्गी पथप्रदर्शक पनि हुन्। उनी पर्यटक गाइड गर्छिन्। कीर्तिपुरमा हनि तेस्रो लिङ्गीसँगै टुरिस्ट गाइडले पनि परिचित छन्। मौनी तेस्रो लिङ्गी मोडलको रूपमा परिचित बन्दै गएकी छन्। हनि र मौनीको राजनीतिमा यो पहिलो प्रयास हो।