२०८० मा शेयर बजारः लगानीकर्ता भन्छन्, ‘नैराश्यताको वर्ष’

5.6K Shares

काठमाडौँ। २०८० सालमा धितोपत्र बजारमा खासै उपलब्धि देखिएन। लगानीकर्ताहरुले यो वर्ष आशै आशामा विताए। मुलुकमा देखिएको आर्थिक सुस्तताका बिच लगानीकर्ताहरु सरकारले ल्याएका नीति तथा नियमहरूमा पनि सन्तुष्टि हुन सकेनन्। अघिल्लो वर्षदेखि नै माग गर्दै आएका विभिन्न नीतिगत सुधारका पक्षहरुमा सम्बोधन हुन सकेन।

यो वर्ष ‘नैराश्यको वर्ष’  भएको लगानीकर्ताहरु बताउँछन्। लगानीकर्ता तिलक कोइरालाले यो वर्ष लगानीकर्ताको लागि अत्यन्तै पीडादायी रहेको बताउँछन्। ‘वाणिज्य बैंक लगायतका ठुला कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ताहरुले सुरक्षित लगानी गर्दागर्दै पनि ठुलो परिमाणमा गुमाउनुपर्याे। सरकारले नीति, नियम, नियमन र पूर्वाधारमा लगानी गरि विस्वास जित्नुपर्नेमा त्यो सम्बन्धि काम फिटिक्कै भएन।’ उनले भने।

यो वर्ष अन्तिममा आएर लगानीकर्ताले अब के गर्ने भन्ने अन्योलको अवस्थाबाट बिट मार्नु पर्ने देखिएको लगानीकर्ता कोइरालाले बताए।

त्यस्तै लगानीकर्ता दुर्गा तिवारीले पनि यो वर्ष लगानीकर्ताको लागि दुई वर्ष अगाडिदेखि उत्साहित नदेखिएको बजारले नै निरन्तरता पाएको बताईन्। यो वर्ष नयाँ नौलो केही नभएको उनको भनाई छ। ‘नयाँ तथा थुप्रै कम्पनी बजारमा आए। पहिला बजार १८–२२ सयको रेञ्जमा थियो भने अलिले पनि त्यहि नै छ।’ उनले भनिन्, ‘बैंकिङ प्रणालीमा तरलताको पर्याप्तता, घट्दो ब्याजदर देखिएपनि बजारमा भने सुधार आउन सकेन। जबसम्म राष्ट्र बैंकको नीति परिर्वतन हुन्न तबसम्म बजार माथि जाँदैन।’

कुनै सेक्टरबाट भने लगानीकर्ताले राम्रै फाइदा पनि गरेका छन् तर समग्र बजारलाई हेर्दा यो वर्ष खासै उपलब्धिमूलक हुन नसकेको उनले बताईन्। साथै बजारमा नैराश्यता छाएको बेला नियामक निकाय लामो समयसम्म नेतृत्व बिहीन हुनु आफैमा राम्रो कुरा नहुने उनले बताईन्।

त्यस्तै अर्की लगानीकर्ता राधा पोखरेलले पनि यो वर्ष लगानीकर्ताका लागि निराशाजनक रहेको बताईन्। विगतका वर्षहरु देखि माग गर्दै आएका नीतिगत व्यवस्थाहरु सम्बोधन नहुँदा यो वर्ष उधारो सम्झौतामा नै लगानीकर्ता अलमलिनु परेको उनको भनाई छ। उनले भनिन् ‘तीन वर्षदेखि बजार जसरी घटिरहेको थियो, अहिले पनि त्यस्तै रह्यो। बजार सुधारका कामहरु पनि खासै केही भएनन्।’

२०८० सालको पहिलो कारोबार वैशाख ३ गते १९३१.६८ बिन्दुबाट भएको थियो। यो वर्षभरिको कारोबारमा ९४.०२ अंकले बढेर गत चैत २८ गते बजार २०२५.७० को बिन्दुमा बन्द भएको छ।

यो अवधिमा नेप्से गत जेठ २ गते नेप्से वर्षकै न्युन बिन्दु १८१८.३१ मा झरेको थियो भने सबैभन्दा माथिल्लो बिन्दु साउन २७ गते २२२७.१६ बिन्दूमा पुग्यो। यो अधिमा शेयर बजार २३० कारोबारमा आयो।

बजार पुँजीकरण गत वैशाख ३ गते २८ खर्ब १४ अर्ब ५३ करोड ३७ लाख बढी रहेको थियो। यो वर्षको अन्तिम कारोबार दिन चैत २८ गते ३२ खर्ब १२ अर्ब ८० लाख पुगेको छ।

२४ वटा कम्पनीको आईपीको निष्काशन, सबैभन्दा बढी हाइड्रोपावर कम्पनी

०८० सालमा २३ वटा कम्पनीले साधारण शेयर निष्काशन गरेका छन्। उत्पादन तथा प्रशोधन तर्फ ४ वटा कम्पनी घोरही सिमेन्ट इन्डष्ट्री, सोनापुर मिनरल्स एण्ड वेल लिमिटेड, सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पीलिङ मिल्सले आईपीओ निष्काशन गरेका हुन्।

हाइड्रोपावर कम्पनीतर्फ ९ वटा कम्पनीले आईपीओ निष्काशन गरेका हुन्। अपर स्याङ्गे हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर, अपर लोहरे खोला हाइड्रोपावर, मनकामना ईन्जिनियरिङ हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मीड सोलू हाइड्रोपावर, माण्डु हाइड्रोपावर, चिरर्खा हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युतले आईपीओ निष्काशन गरेका हुन।

इन्स्योरेन्सतर्फ ४ वटा कम्पनीले साधारण शेयर जारी गर्ने अनुमति पाए। जसमा आईएमई लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ, सन् नेपाल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन्।

त्यस्तै होटलतर्फ सोल्टी होटलले आईपीओ निष्काशन गरेको छ। यता अन्य क्षेत्रका कालिन्चोक दर्शन लिमिटेड, नेपाल रिपब्लिक मिडिया, नेपाल वेयरहाउजीङ र हिमालयन रि इन्स्योरेन्सले आईपीओ निष्काशन गरेको हो।