नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने वर्ल्ड बैंकको अनुमान, सुधारको बाटोमा अर्थतन्त्र

1.8K Shares

विश्व बैंकले अर्धवार्षिक रुपमा अद्यावधिक गर्ने ‘कन्ट्री डेलभपमेन्ट अपडेट’का अनुसार विपे्रषण आप्रवाहमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोग समेत बढ्नेछ ।

‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षक तय गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक बर्ष २०२५ मा थप ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । यद्यपि यो प्रक्षेपण बहुचुनौतिसहितको रहेको भन्दै बैंकले भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरुको सुस्त वृद्धि पर्ने हुँदा विपे्रषण र पर्यटनमा गिरावट आउन सक्ने उल्लेख गरेको छ । त्यसका लागि व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न जरुरी हुने र यसले मध्यकालीन वृद्धिलाई सहायता पुर्याउने वर्ल्ड बैंकको भनाई छ ।

“पुँजीगत खर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिक मनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनु आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको सवालमा महत्वपूर्ण छन्” माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि वर्ल्ड बैंकका राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले भने ।

नेपाल डेभलपमेन्ट अपडेट साउथ एसिया डेभलपमेन्ट अपडेटसँग समानान्तर रुपमा तयार गरिएको छ । जसले दक्षिण एसियाली क्षेत्रको आर्थिक विकास तथा दृष्टिकोणको परीक्षण र मुलुकहरुले व्यहोर्नुपरेका नीतिगत चुनौतिहरुको विश्लेषण गर्छ ।

‘उत्थानशीलताका लागि रोजगारी’ शीर्षकको अप्रिल २०२४ को संस्करणले विश्वका कुनै पनि उदाउँदा बजारहरु र विकासशील मुलुकहरुमध्ये दक्षिण एसियाको वृद्धि सबैभन्दा उच्च देखाएको छ । यस्तो वृद्धि सन् २०२४ मा ६ प्रतिशत र सन् २०२५ मा ६.१ प्रतिशत हुने अनुमान गरिएको छ । तर प्रतिवेदनले उल्लेखित अनुमानले मेल खान नसक्ने सम्भावना पनि रहेको प्रतिवेदनमा उल्लेख छ।

धेरै मुलुकहरुको वृद्धि अझै पनि महाव्याधि पूर्वको तहभन्दा अझै कम रहेको र सार्वजनिक खर्चमा बढी निर्भर रहनुपरेको छ । यसै समयमा सबै दक्षिण एसियाली मुलुकहरुमा निजी लगानी वृद्धिमा सुस्तता आएको र यस क्षेत्रले तिव्र रुपमा बढ्दो काम गर्ने उमेरको जनसंख्याका लागि पर्याप्त रोजागरीहरु सिर्जना गर्न नसकेको वर्ल्ड बैंकको भनाई छ ।

“आफ्नो जनसांख्यिक लाभलाई पूर्ण रुपमा उपयोग गर्न दक्षिण एसिया अहिले असफल भएको छ । यो अवसर गुमेको छ” दक्षिण एसियाका लागि विश्व बैंकका प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओह्न्सोर्जले भनिन्, “यदि यो क्षेत्रले अन्य उदाउँदा बजारहरु र विकासशील अर्थतन्त्रहरुले जस्तै आफ्नो काम गर्न योग्य उमेर समूहको ठूलो जनसंख्यालाई रोजगार बनाउन सकेको भए त्यसको नतिजा १६ प्रतिशतभन्दा बढी हुन सक्थ्यो । ”

तिव्र रोजगारी सिर्जना गर्न र वृद्धिलाई बढावा दिन साउथ एसिया डेलभपमेन्ट अपडेटले केही नीतिगत सुझावहरु पनि दिएको छ । जसमा व्यापारमा खुलापनको वृद्धि, व्यावसायिक वातावरण र संस्थाहरुको सुधार, वित्तीय क्षेत्रको प्रतिबन्ध फुकुवा, शैक्षिक सुधार र महिला अधिकारको कानुनी संरक्षणको सुदृढीकरण रहेका छन् । यी उपायहरुले रोजगारी वृद्धि र उत्पादन बढाउन तथा जलवायु अनुकूलनमा सार्वजनिक लगानीको लागि आधार तयार गर्न सहयोग पुर्याउने उल्लेख छ ।