देशमा सुशासनको नयाँ अभियान सुरु भएको छ : गृहमन्त्री लामिछाने

3.5K Shares

भरतपुर । भरतपुर उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशमा सुशासनको नयाँ अभियान सुरु भएको बताए । आज चितवनको भरतपुरमा पार्टी नेता कार्यकर्तासँग फागुपूर्णिमाको अवसरमा होली खेल्दै उनिले नयाँ सरकार निर्माण भएसँगै जनतामा आशा पलाएको बताए ।

उनिले भने , “विभिन्न दलहरुसँग साझेदारी गरेर सत्तामा चार मन्त्रालयको जिम्मेवारी लिएका छौँ । सुशासनका लागि ठूला दलका प्रमुख नेता एक हुनुहुन्छ ।” उनिले सरकार सञ्चालन र सुशासन कायम गर्ने विषयमा सबै शीर्ष नेताहरु एक ठाउँमा उभिएको बताए । “अब मान्छे बचाउने होइन देश बचाउने हो । नेता बचाउने होइन जनता बचाउने हो”, उनिले भने । गृहमन्त्री लामिछानेले गलत गतिविधि गर्नेहरु कानुनको दायरामा आउने भन्दै सना, ठूला, चिल्ला, खस्रा सबै माछा पक्राउ गर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछानेले होली पर्वले जस्तै हाम्रो जीवन र समाज पनि रङ्गीन बनोस भनेर शुभकामाना दिए । उनिले होली पर्वसँगै सामाजिक सद्भाव सधैँ कायम होस् भन्दै मतदाताप्रति आफू सधैँ ऋणि रहेको र ब्याजसहित फिर्ता गर्ने प्रतिबद्धता जनाए । पार्टीले सरकारमा गएको दुई हप्तामै काम गरेर देखाएको उनिको भनाइ छ ।