डोल्पामा बाढीले बगाउँदा एक महिलाको मृत्यु, ६ जना घाइते

  • मिति : असार २१, २०८३
497 Shares

डोल्पा । डोल्पामा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्लाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा निरन्तरको वर्षापछि धुलाखोला र आसपासका खहरेमा आएको हिलोमाटोसहितको बाढी आज बिहान करिब ३ बजे गाउँमा पसेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

बाढीमा परी स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विक गम्भीर घाइते भएकी थिइन् । उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलले जानकारी दिए ।

बाढीमा परेर अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक रहेका छन् ।

प्रहरीका अनुसार घाइतेहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रेफर गरिएको छ ।