काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा–२’मा सविन श्रेष्ठको इन्ट्री भएको छ ।
उनलाई फिल्मका निर्देशक तथा निर्माता पन्तले फिल्मको एक मुख्य भूमिकामा अनुबन्ध गरेका हुन् । यसअघि पन्तले यो फिल्ममा पल शाह, विपना थापा, आकाश श्रेष्ठ लगायत कलाकारलाई अनुबन्ध गरिसकेका छन् । साथै, यस फिल्मको शुभमुर्हूत समेत भइसकेको छ । गत सोमबार बिहान निर्माण टिमले पाटन बंगलामुखी मन्दिरमा फिल्मको शुभुमूर्हत गरेको हो ।
गत वर्षको फिल्म ‘आ बाट आमा’ सुपरहिट फिल्म बनेको थियो । सोही फिल्मको यो सिक्वेल हो । यस फिल्ममा पल, विपना, प्रदीप, आकाश, सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का लगायतका कलाकारहरुले अभिनय गर्दैछन् ।
निर्माण टिमले यस फिल्मका अभिनेत्रीको भने नाम सार्वजनिक गरेको छैन । अहिलेसम्म कुन हिरोइनले यस फिल्ममा काम गर्दैछन् भन्ने कुरा निर्माण पक्षले गोप्य राखेको छ ।
आगामी दसैंमा प्रदर्शनमा ल्याउने भनिएको यो फिल्मको केही सातापछि फ्लोरमा निस्किने तयारी छ । यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहनेछ भने यस फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ ।
आर्या इन्टरेटन्मेन्ट प्रालिको ब्यानरमा हुने यस फिल्मको डिजिटल अधिकार ओएसआरले लिएको छ । साथै, प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन् ।