पोखरामा एकल महिलाको हत्या आरोपमा २ युवक पक्राउ

  • मिति : चैत्र २७, २०८२
1.3K Shares

काठमाडौँ : पोखरामा एकल महिलाको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बुधबार साँझ कास्कीको पोखरा महानगरपालिका ८ शिवालयचोकस्थित पोखरा बाग्लुङ सडक खण्डमा धारिलो हतियार प्रहार गरी पोखराकै ४२ वर्षकी सिर्जना पौडेल केसीको

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी महिलाको त्यसै दिन बेलुका गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि फरार रहेका दुई जनालाई पक्राउ गरेर कास्की प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

घटनामा पर्वतको कुश्मा नगरपालिका ११ शिल्मी घर भई पोखरा महानगरपालिका ६ डेरा बस्ने २७ वर्षका सन्तोष भन्ने शिशिर केसी र कास्कीकै पोखरा महानगरपालिका १७ रातोपहिरो बस्ने ३२ वर्षका कुशल परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए।

शिवालय चोक स्थित पोखरा बाग्लुङ सडक खण्डमा एक जना महिलालाई अपरिचित व्यक्तिले धारलो हतियार प्रहार गरी घाइते बनाई भागी फरार रहेको भन्ने सूचना सुरुमा प्रहरीलाई प्राप्त भएको थियो।

सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी नायब उपरीक्षक नमराज भट्टराईको कमान्डमा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षकको कमान्डमा प्रहरी टोली खटिएका थिए।

घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको थियो। घाइते महिला पोखरा ५ जिरो किलोमिटर घर भई हाल पोखरा १८ सेदी बस्दै आएकी थिइन्। प्रहरीले सीसीटीभी फुटेजलगायत प्राविधिक रूपमा अनुसन्धान गर्दै आरोपितको पहिचान गरेको थियो।

सिर्जना पोखराको पृथ्वीचोकमा ब्याग, जुत्ता तथा चप्पलको पसल सञ्चालन गर्दै आएकी थिइन्। उनकी ४ वर्षकी छोरी छन्। उनका श्रीमानको भने तीन वर्ष पहिले नै मृत्यु भएको थियो। प्रतिवादीहरूलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको डीएसपी बस्नेतले बताए। हत्या भएको थियो।