झापा, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताउनुभएको छ । दमकमा आज आयोजित कार्यक्रममा उहाँले नेसनल भोलेण्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताउनुभयो ।
अध्यक्ष ओलीले आन्दोलनको नाममा विगतमा जस्तो देश जलाउन र प्रहरीको अतियार खोस्न अब कसैले नसक्ने दाबी गर्नुभयो । नेसनल भोलेण्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित हुने र प्रहरी प्रशासनलाई सहयोग गर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले) ले कोशी प्रदेशस्तरीय नेशनल युथ फोर्स गठन गरेको उहाँको भनाइ छ ।
उहाँले चुनावी सभालाई सम्बोधन गर्दै देशभरका जिल्लाका सदरमुकाम सडक सञ्जालमा जोडिसकेको बताउनुभयो । कोशी प्रदेशको ताप्लेजुङबाट ओलचुङ्गोलसम्मको सडक खोलिएको र कालोपत्रे हुँदै गइरहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, “हाम्रो काम भनेको विकास गर्ने हो, यस ठाउँबाट मात्र होइन हरेक स्थानमा पुल बाटा बनाइएको र कृषिलाई आधुनिकरण गरिएको छ ।”