बनेपा, काभ्रेपलाञ्चोक । नेपाल बनेपा बहुप्राविधिक शिक्षालय रहेको भवन तथा शिक्षालयले चर्चेको जग्गा बनेपा नगरपालिका मातहत ल्याई सो स्थानमा नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति स्थानीयवासीले चर्को विरोध जनाएका छन्।
नगरसभाको मिति २०८२ पुस ३० गते बसेको १७औँ अधिवेशनले वडा नं. ५ अन्तर्गत सञ्चालनमा रहेको शिक्षालयको भवन र सम्पूर्ण जग्गा नगरपालिका मातहत ल्याउने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो।
निर्णयअनुसार आगामी शैक्षिक सत्रदेखि शिक्षालयमा सञ्चालन हुने पठनपाठन कार्यक्रम अन्यत्र वैकल्पिक स्थानमा व्यवस्थापन गरी हाल प्रयोग भइरहेको स्थान खाली गरिदिन शिक्षालय प्रशासनलाई पत्राचारसमेत गरिएको छ। उक्त पत्र नगर प्रमुख शान्ति रत्न शाक्यद्वारा हस्ताक्षरित छ।
तर, नगरपालिकाको यस निर्णयप्रति स्थानीय बासिन्दा, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले प्रविधिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै सञ्चालनमा रहेको प्राविधिक शिक्षालयलाई नगर बाट नै हटाउनु गलत निर्णय भएको आरोप लगाएका छन्।
स्थानीयहरूको भनाइमा प्राविधिक शिक्षाले युवाहरूलाई सीपमूलक दक्षता र रोजगारीको अवसर प्रदान गर्दै आएको अवस्थामा शिक्षालय नै उठाउने निर्णय दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ।
पछिल्लो समय सामाजिक सञ्जालमा समेत नगरपालिकाको निर्णयप्रति व्यापक चासो र बहस देखिएको छ। धेरैले शिक्षालय हटाउनु ठूलो भूल हुने भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन्।
यस विषयमा नगरपालिकाको थप आधिकारिक धारणा आउन बाँकी छ।