चितवनमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको डेरी एक्स्पो सुरु, दुग्ध उत्पादन, प्रशोधन र बजारीकरणमा नयाँ सम्भावनाको खोजी

  • मिति : माघ २५, २०८२
2.9K Shares

चितवन । चितवनमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको डेरी एक्स्पो आजदेखि सुरु भएको छ। डेरी चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा सञ्चालन भएको यस एक्स्पोले दुग्ध उत्पादन, प्रशोधन तथा बजारीकरण क्षेत्रमा नयाँ सम्भावनाको खोजी गर्ने लक्ष्य लिएको छ।
एक्स्पोमा स्वदेशी तथा विदेशी डेरी उद्योगसँग सम्बन्धित कम्पनीहरूले आधुनिक दुग्ध संकलन प्रणाली, प्रशोधन प्रविधि, प्याकेजिङ उपकरण तथा नवीनतम दुग्धजन्य उत्पादनहरू प्रदर्शनमा राखेका छन्। यी प्रविधिहरूले उत्पादन लागत घटाउने, गुणस्तर सुधार गर्ने तथा प्रतिस्पर्धात्मक बजार निर्माणमा सहयोग पुर्‍याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले किसानले उत्पादन गरेको दूधको उचित मूल्य र सुनिश्चित बजारका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए। “किसानको मेहनतको सही मूल्य पाउन र बजारलाई व्यवस्थित बनाउन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने।

उद्घाटन समारोहमा बोल्दै राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले दुग्ध क्षेत्रको दिगो विकासका लागि आधुनिक प्रविधि, दक्ष जनशक्ति र बजार पहुँच अपरिहार्य रहेको उल्लेख गरे। “यो एक्स्पो दुग्ध क्षेत्रलाई प्रविधि र बजारसँग जोड्ने महत्वपूर्ण प्रयास हो,” उनले बताए।

त्यसैगरी डेरी चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई नेपाली दुग्ध क्षेत्रलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने साझा प्लेटफर्म भएको स्पष्ट पारे।

एक्स्पो अवधिभर किसान, सहकारीकर्मी, उद्यमी तथा विज्ञहरूबीच अन्तरक्रिया, तालिम र अनुभव आदान–प्रदानका कार्यक्रमहरू सञ्चालन गरिनेछन्। यसबाट उत्पादनको गुणस्तर सुधार, बजार विस्तार तथा व्यवसायिक सञ्जाल निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चितवनमा आयोजना गरिएको अन्तर्राष्ट्रिय डेरी एक्स्पोले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म दुग्ध क्षेत्रको विकासमा उल्लेखनीय टेवा पुर्‍याउने विश्वास गरिएको छ।