विजय लघुवित्तको एफपीओमा पहिलो दिनमै १८ गुणा बढी आवेदन, लगानीकर्ताको जबरजस्त आकर्षण

2.5K Shares

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमबारदेखि निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । निष्कासनको पहिलो दिनमै मागभन्दा १८ गुणा बढी आवेदन परेको छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) का अनुसार सोमबार साँझ ५ बजेसम्म ७ लाख १९ हजार २०९ जना लगानीकर्ताले आवेदन दिएका छन्। उनीहरूबाट कुल ८४ लाख ९३ हजार २६० कित्ताका लागि आवेदन परेको हो। कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ६६ हजार ८१७ कित्ता शेयर मात्र निष्कासन गरेको थियो।

यस आधारमा पहिलो दिनमै कुल निष्कासनको १८.१९ गुणा बढी आवेदन परेको देखिन्छ। लगानीकर्ताहरूले ८ अर्ब ४९ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको पुँजी प्रतिबद्धता जनाएका छन्।

एनएमबि क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धक रहेको यो एफपीओमा लगानीकर्ताले ढिलोमा पुस २४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ। यद्यपि, पहिलो दिनमै मागभन्दा धेरै आवेदन परिसकेकाले यो निष्कासन छिटो अवधिमै बन्द हुने सम्भावना बलियो छ ।

लघुवित्तको एफपीओमा देखिएको यो उत्साहले सेयर बजारमा साना लगानीकर्ताको मनोबल उच्च रहेको सङ्केत गरेको छ ।