काठमाडौं । भारतीय नागरिक नवल किशोर चौधरी र उनकी श्रीमती सीता देवी चौधरीमाथि गैरकानुनी आर्थिक गतिविधि, अवैध हुन्डी कारोबार तथा दोहोरो नागरिकता लिएको आशंकामा गम्भीर प्रश्न उठेका छन्।
श्रोतका अनुसार नवल किशोर चौधरीले आफ्ना कथित दुई नम्बरका कारोबारहरू श्रीमती सीता देवी चौधरीको नाममा सञ्चालन गर्दै आएको आरोप लागेको छ। विशेषगरी भारत–नेपाल सीमापार हुने अवैध हुन्डी कारोबारमार्फत ठूलो परिमाणमा रकम ओसारपसार गरिएको हुनसक्ने आशंका गरिएको छ। ती कारोबारबाट आर्जन गरिएको सम्पत्ति लुकाउन पत्नीको नाम प्रयोग गरिएको हुनसक्ने बताइन्छ।
अझ गम्भीर विषय के छ भने, सीता देवी चौधरीले भारत र नेपाल दुवै देशको नागरिकता लिएको दाबी गरिएको छ। यदि यो तथ्य पुष्टि भएमा यो प्रचलित कानुनअनुसार गम्भीर अपराध मानिन्छ। श्रोतका अनुसार उनले धनुषा जिल्लाकी एक महिलाको छोरी बनेर नेपाली नागरिकता लिएको आरोपसमेत लागेको छ।
सम्पत्तिको विवरणसम्बन्धी सूचनाअनुसार भारतको बर्गिनिया कस्टम अफिस पछाडि उनीहरूको दुईतले घर रहेको बताइएको छ। त्यसैगरी नेपालमा ललितपुरको सानेपा वडा नम्बर–२ अन्तर्गत सगरमाथा इन्जिनियरिङ कलेज नजिक दुईवटा घर रहेको उल्लेख गरिएको छ। यी सम्पत्तिहरू अवैध हुन्डी कारोबार र गैरकानुनी आम्दानीबाट आर्जन गरिएको हुनसक्ने आशंका गरिएको छ।
हुन्डी कारोबारमार्फत औपचारिक बैंकिङ प्रणालीलाई छल्दै रकम आदानप्रदान गरिएको हुनसक्ने दाबी गरिएको छ, जसले राज्यको राजस्वमा क्षति पुर्याउनुका साथै आर्थिक प्रणालीलाई कमजोर बनाउने सरोकारवालाहरूको भनाइ छ। त्यसैले यो विषय केवल व्यक्तिगत अपराध नभई आर्थिक अपराधको गम्भीर मुद्दा भएको उनीहरूको तर्क छ।
यी सबै विषयहरू गम्भीर प्रकृतिका भएकाले गृह मन्त्रालय, नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग तथा नागरिकता सम्बन्धी निकायहरूले अवैध हुन्डी कारोबारसहित सम्पूर्ण गतिविधिबारे तत्काल सत्यतथ्य छानबिन गर्नुपर्ने माग उठ्न थालेको छ।
यस विषयमा नवल किशोर चौधरी वा सीता देवी चौधरी पक्षको आधिकारिक प्रतिक्रिया भने हालसम्म प्राप्त हुन सकेको छैन। उनीहरूको धारणा आएमा यस समाचारमा समेटिनेछ।

