विद्यालय सञ्चालक सडकमा, शिक्षा विधेयकका प्रावधान खारेज गर्न माग

  • मिति : भदौ ५, २०८२
2.5K Shares

काठमाडौं । शिक्षा विधेयकका प्रावधानविरुद्ध निजी विद्यालय सञ्चालकहरूले राजधानीमा सडक आन्दोलन थालेका छन्। सिंहदरबारभित्र विधेयक पारित गर्ने कार्यसूचीका साथ संसदीय दलको बैठक चलिरहेका बेला विद्यालय सञ्चालकहरू भने बाहिर विरोध प्रदर्शनमा उत्रिएका हुन्। निजी तथा आवासीय विद्यालय सङ्घ नेपाल (प्याब्सन) र नेशनल प्याब्सनको संयुक्त आव्हानमा प्रिन्सिपल र सञ्चालकहरू माइतीघर मण्डलामा भेला भएका छन्।

सञ्चालकहरूले नयाँबानेश्वर चोकसम्म र्‍याली निकालेर पुनः माइतीघर फर्किएर कोणसभा गर्ने कार्यक्रम तय गरेका छन्। उनीहरूको भनाइमा शिक्षा विधेयकमा प्रस्तावित कतिपय व्यवस्था निजी विद्यालयमैत्री छैनन् र यसले विद्यालय सञ्चालनलाई थप चुनौतीपूर्ण बनाउनेछ। विशेष गरी छात्रवृत्ति, पोशाक, स्टेशनरी, खाना-खाजासम्बन्धी प्रावधानले निजी विद्यालयलाई गैरआवश्यक बोझ थप्ने दाबी उनीहरूको छ।

प्याब्सन र एन प्याब्सनले विधेयकबाट “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाउनुपर्ने माग राखेका छन्। त्यस्तै विद्यालयले अनिवार्य रूपमा पोशाक, शैक्षिक सामग्री वा खाना-खाजा उपलब्ध गराउनुपर्ने व्यवस्थासमेत हटाउनुपर्ने उनीहरूको जोड छ। साथै विद्यालयलाई गैर नाफामूलक संस्था बनाउँदै लैजाने प्रावधान समेत खारेज गर्नुपर्ने बताइएको छ।

निजी विद्यालय सञ्चालकहरूको अर्को माग भनेको छात्रवृत्ति वितरण गर्ने अधिकार सम्बन्धित विद्यालयकै हातमा रहनुपर्ने हो। उनीहरूको भनाइमा सरकारले ल्याउन खोजेको कानुन कार्यान्वयन भए निजी विद्यालयहरू संकटमा पर्ने र गुणस्तरीय शिक्षा प्रभावित हुने सम्भावना छ। उनीहरूले माग पूरा नभए आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन्।