त्रिविमा लगाएको ताला तत्काल खोल्न सर्वोच्चको आदेश

  • मिति : असार १९, २०८२
2.5K Shares

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला तत्काल खोल्न अन्तरिम आदेश दिएको छ । अधिवक्ता महेश भट्टराईको रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले त्रिविमा लगाएको ताला खोल्न आदेश दिएको हो ।

एक महिना बढीदेखि त्रिविमा तालाबन्दी छ । जसका कोरण त्रिविका पदाधिकारी कार्यकक्षमा जान पाएका छैनन् । आंशिक प्राध्यापक संघ, नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूह र अनेरास्ववियू (क्रन्तिकारी)ले मूल ढोकामा तालाबन्दी गरेका छन् । नेविसंघबाट निर्वाचित भएका उपत्यकाका स्ववियुका विद्यार्थी नेताहरू १४ जेठमा पदाधिकारीको कार्यकक्षमा ताला लगाएका हुन् । स्नातक पहिलो वर्षमा भर्ना खुलाउनु पर्ने माग राखेर विद्यार्थी नेताले तोडफोड गरेका थिए ।

विद्यार्थीको तालाबन्दीले प्रभावित भएको त्रिविमा फेरि ३० जेठमा आंशिक प्राध्यापक संघले तालाबन्दी गरेको छ । नेविसंघका विद्यार्थी नेताले पदाधिकारीको कार्यकक्षमा मात्र लगाएका थिए । कर्मचारीहरू कार्यालयभित्र छिर्न पाएका थिए । तर, आंशिक प्राध्यापक संघले मूल ढोकामा नै ताला लगाएपछि कर्मचारीसमेत भित्र छिर्न पाएका छैनन् ।

कर्मचारी स्मृति भवनमा, कोही पुल्चोकमा, कोही परीक्षा नियन्त्रण कार्यालयमा ल्यापटप बोकेर काम गरिरहेका छन् । अदालतको आदेशसँगै अब त्रिविमा विभिन्न समूहले लगाएको ताला खुल्ने भएको छ ।