टोखा नगरपालिकाको निर्णय : वैशाख १० देखि सबै विद्यालय सञ्चालनमा ल्याउनुपर्ने

  • मिति : बैशाख ८, २०८२
2.3K Shares

काठमाडौं । टोखा नगरपालिकाले नगरपालिका अन्तर्गत रहेका सबै विद्यालयमा विद्यार्थी भर्ना र नियमित पठनपाठन सुनिश्चित गर्न निर्देशन दिएको छ।

टोखा नगर शिक्षा ऐन, २०७५ र नगर शिक्षा नियमावली, २०७६ को सम्बन्धित उपधारा तथा उपवन्धअनुसार नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि प्रारम्भ भइसकेकोले नियमित पठनपाठन संचालन गर्न आवश्यक भएको नगर शिक्षा शाखाले जनाएको छ।

हाल देशभर शिक्षक महासंघको नेतृत्वमा देशव्यापी रूपमा आन्दोलन जारी रहेको सन्दर्भमा विद्यालय पठनपाठन प्रभावित भइरहेको अवस्थालाई ध्यानमा राख्दै नगरपालिकाले विशेष सूचना जारी गरेको हो।

नगरपालिकाको बैठकले २०८२/०१/०८ मा गरेको निर्णय अनुसार कुनै पनि शैक्षिक गतिविधि अबरुद्ध गर्न नपाइने व्यवस्था रहेको र २०८२/०१/१० गतेदेखि सबै विद्यालयमा अनिवार्य रूपमा पठनपाठन सञ्चालन गर्नुपर्ने जानकारी दिइएको छ।

नगर शिक्षा शाखाका शिक्षा निरीक्षक बाबुराम गौतमले विद्यालय व्यवस्थापन समितिलाई शिक्षक तथा कर्मचारीले आचारसंहिता पालना गर्दै नियमित रूपमा उपस्थित भई पठनपाठन तथा शैक्षिक गतिविधिहरू संचालन गर्न आग्रह गरेका छन्।