काठमाण्डौं । काठमाण्डौं स्थित त्रिभुवन विश्वविद्यालय जन प्रशासन क्याम्पस बल्खुका जनप्रशासनमा स्नातक (बि.पि.ए.) प्रथम सेमेष्टरको शैक्षिक क्यालेण्डर अनुरुप शैक्षिक भ्रमण कार्यक्रम अन्तर्गत सो सेमेष्टरमा अध्ययनरत ३५ जना विद्यार्थीहरुको टोलीले मिति २०८२ बैशाख ७ गते कृषि विकास बैंकको मुख्य कार्यालय भ्रमण कार्य सम्पन्न गरेका छन् ।

फ्याकल्टी संयोजक अजय कृष्ण पराजुलीको नेतृत्वमा आएका विद्यार्थीहरुले आफुले पाठ्य पुस्तकमा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अनुभूति लिई सिकाईलाई थप प्रभावकारी बनाउने उद्देश्यले सार्वजनिक संस्थामा गई संस्थाले के कसरी जनतामा सेवा प्रवाह गर्छ भनी जानकारी लिनको लागि कृषि विकास बैंकलाई छनौट गरी भ्रमण कार्यक्रम तय गरिएको बताएका थिए ।

सो क्रममा बैंकको मार्केटिङ्ग एण्ड सेल्स विभागका विभागीय प्रमुख सरीता दहालले टोलीलाई स्वागत गर्दै विद्यार्थीहरुसंग प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्ने अवसर पाएकोमा फ्याकल्टी संयोजक र उपस्थित विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । सोही अवसरमा क्याम्पसको अनुरोधको आधारमा क्याम्पसले तय गरेको विषयमा एक÷एक घण्टाको २ वटा सेशनहरु पनि संचालन गरिएको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुको काम तथा सोको सामाजिक प्रभाव विषयमा मार्केटिङ्ग एण्ड सेल्स विभागको वरिष्ठ शाखा प्रमुख हिरा बहादुर आले र डिजिटल बैंकिङ्ग कारोबारमा सजगता विषयमा डिजिटल बैंकिङ्ग विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर प्रकाश पाण्डेले कक्षा संचालन गर्नु भएको थियो ।
सेशनको समाप्ती पछि विद्यार्थीहरुले मार्केटिङ्ग एण्ड सेल्स विभागको बरिष्ठ शाखा प्रमुख खेटराज दहालको समन्वयमा मुख्य कार्यालयका विभिन्न विभागहरुको भ्रमण गरी विभागीय काम र कार्य प्रणालीको बारेमा जानकारी लिएका थिए ।