इतिहासको सम्मान गर्न सक्नुपर्छः उपप्रमुख डंगोल

1.8K Shares

काठमाडौँ : विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको छ । माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए। सोही दिनको स्मरण गर्दै आजबाट उनको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह शुरु गरिएको हो । सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उहाँको शालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन्।

तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इतिहासको सम्मान गर्नुपर्ने बताइन्। टेकुस्थित शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पणपछि बोल्दै उनले इतिहासको सम्मान गर्नुपर्ने बताइन्। उनले समयसँगै देशको लागि योगदान गर्नेहरुको योगदानको कदर गर्न सक्नुपर्ने बताइन्। उनले शहीदहरुको योगदानबारेको ज्ञान पुस्तान्तरण हुँदै जानुपर्ने बताइन्। योगदानबारेको चर्चा पुस्तान्तरण भएमात्रै इतिहासलाई सम्मान गर्न सकिने र सच्चा नागरिक भएर काम गर्नसक्ने बताइन्।

उपप्रमुख डंगोलले भनिन्, ‘इतिहासको सम्मान गर्न सक्नुपर्छ । समयसँगै योगदान दिनेहरु पनि अस्ताउँदै जानुहुन्छ । त्यसैले उहाँहरुको योगदानको कदर गर्नुपर्छ । पुस्तान्तरण हुनुपर्छ । पुस्तान्तरण भएपछि मात्रै इतिहासलाई बुझ्ने मान्छेले, इतिहासलाई सम्मान गर्ने व्यक्तिले आज वर्तमानमा सच्चा नागरिक भएर काम गर्नसक्छ । भविष्यको बाटो कोर्नसक्छ ।’