काठमाडौंमा बिहानैदेखि वर्षा, अन्य स्थानको कस्तो रहनेछ आजको मौसम?

3.8K Shares

काठमाडौं उपत्यकासँगै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको आंशिक प्रभावका कारण ती स्थानहरूमा बिहान हल्कादेखि मध्यम वर्षा भएको हो ।

अन्य भूभागमा आंशिकदेखि साधारणतया बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ‍।

शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ ।

राति गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।