नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

4.5K Shares

काठमाडौँ । ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ।

शनिबार ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरे। पारीको अन्तिम ओभरमा छ बलमा ऐरीले छ छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय टि-२० खेलमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली र विश्वकै तेस्रो खेलाडी बने ।

नेपालका लागि ऐरीले सर्वाधिक ६४ रन बनाए। कूल २१ बल खेलेका उनले सात छक्का र तीन चौका प्रहार गरे। नेपालका लागि ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले। उनले ४१ बलमा छ चौकाको सहयोगमा ५२ रन बनाए। कुशल मल्लले १८ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३५ रन बनाए। साथै कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले सात, गलसन झा र विवेक यादवले पाँच/पाँच रनको योगदान दिए।

कतारका लागि हिमांशु राठोर र मुसावर शाहले तीन/तीन विकेट लिए भने अमीर फारुकले एक विकेट लिए। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो। कतार भने पहिलो खेलमा हङकङसँग पराजित भएको थियो।