काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले एक आपसमा ल्याउने आदन प्रदान गर्ने कर्जाको ब्याजदर अर्थात अन्तर बैंक ब्याजदर साढे ४ प्रतिशत पुगेको छ। यसले बैंकिङ प्रणालीमा तरलताको अवस्था सन्तुलनमा रहेको देखाउँछ।
नेपाल राष्ट्र बैंकका अनुसार चैत २१ गते अन्तर बैंक ब्याजदर ४.४९ प्रतिशत कायम भएको छ। जबकी चैत २० गते ३.५३ र १९ गते २.७५ प्रतिशत रहेको थियो।
अर्थमन्त्रालयले स्थानीय तहको रकम निक्षेपमा गणना गर्न नपाउने व्यवस्था छ। यो व्यवस्थाको कारण बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम कम हुन गई अन्तर बैंक ब्याजदर बढेको हो।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत १९ गते वाणिज्य बैंकहरुसँगको कुल निक्षेप ५४ खर्ब ८५ अर्ब रुपैयाँ रहेको थियो। अर्थ मन्त्रालयले उक्त निर्णयले ९१ अर्ब निक्षेप घट्न गई वाणिज्य बैंकहरुसँग यस्तो निक्षेप ५३ खर्ब ९४ अर्बमा सिमित भएको थियो।
चैत २१ गतेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ६१ खर्ब ०६ अर्ब पुगेको छ भने कुल कर्जा प्रवाह ५० खर्ब ८८ अर्ब रहेको छ। वाणिज्य बैंकमा मात्रै यस्तो निक्षेप ५३ खर्ब ९४ खर्ब रहेको छ। सिडि रेसियो ८०.८८ प्रतिशत रहेको छ।