कास्की । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) फेरि मन्त्री बन्ने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मनाङेलाई मन्त्री बनाएका हुन् ।
एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका मनाङेलाई समेत समेटेर मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ ।
मनाङेका स्वकीय सचिव सन्तोष अधिकारीले मनाङले आजै साढे ३ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ लिने तयारी रहेको छ ।
गत प्रदेशसभा निर्वाचनमा मनाङ प्रदेश ‘२’बाट स्वतन्त्र उम्मेदवारी दिएका मनाङे निर्विरोध निर्वाचित भएका थिए । उनी निर्वाचित भएलगत्तै नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ (किसान) लगायत नेताहरूसँगको सामूहिक तस्बिर सार्वजनिक गर्दै आफू उक्त पार्टीमा प्रवेश गरेको बताएका थिए । यसअघि मनाङे मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारमा खेलकुद तथा युवामन्त्री बनेका थिए ।