काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगत केही सयमयता धेरै उच्चारण गर्ने शब्द हो, ‘एमाले सत्ता परिवर्तनको फोहोरी खेलमा लाग्दैन । बरु जनताको जितेर मत ल्याएरै २०८४ सालमा हुने निर्वाचनमार्फत एमाले एक्लैले बहुमतको सरकार बनाउँछ ।’
तर, ओलीले जे भन्ने र बोल्ने गरेका थिए ठिक विपरीत कदम पनि चालिरहेका थिए । अर्थात् ओली मिसन ०८४ को अलवा ‘ट्र्याक टु’ गतिविधिमा पनि उतिकै सक्रिय थिए । बोलीमा सत्ता परिवर्तन र सरकार बनाउने/हटाउने खेलमा नलाग्ने भन्ने उनै ओलीले भित्रभित्रै सत्ता परिवर्तनका लागि शक्ति खर्चेर गृहकार्य समेत गरिरहेका थिए ।
यतिसम्मकी उनले फागुन ८–१० मा बसेको केन्द्रीय समितिको सातौँ बैठकमा नेताहरूलाई वामपन्थी एकता र सरकार परिवर्तनको कुरा नगर्न निर्देशन नै दिएका थिए । ‘तपाईंहरुले वामपन्थी एकता र सरकार परिवर्तनको गीत गाउन जरुरी छैन, गीत गाएर त्यो सम्भव पनि छैन, आवश्यक परे म आफै त्यसको प्रयास गर्छु । तपाईंहरु पार्टी निर्माणमा केन्द्रित हुनुस्’, बैठकमा ओलीले नेताहरूलाई भनेका थिए ।
तर त्यसअघि नै अध्यक्ष ओलीले सत्ता गठबन्धन भत्काउन आफ्ना विश्वास पात्रहरूलाई खटाइसकेका थिए । त्यसको जिम्मा पाएका थिए–उपाध्यक्ष समेत रहेका नेता विष्णु पौडेलले । पौडेललाई मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत सङ्कलित सुझावहरू कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई बुझाएको सुझावपत्रको सहजीकरण गर्ने जिम्मा पनि ओलीले दिएका थिए । उता माओवादीबाट भने उपमहासचिव वर्षमान पुनले नयाँ सत्ता समीकरणका लागि गृहकार्य गरिरहेका थिए । पौडेल र पुनको बिचमा भएको प्रचण्डले फलस्वरुप सत्ता समीकरणमा फेरबदल आउनुका साथै नेकपा एमाले सोमबारबाट प्रमुख प्रतिपक्षबाट सत्ता साझेदार दलमा परिवर्तन हुन पुग्यो ।