रूख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्नेछौं : गगन थापा

3.8K Shares

ललितपुर ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले रूख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताएका छन्।

मंगलबार ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठानिक प्रस्ताव पेश गर्दै थापाले यस्तो बताएका हुन्।

‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौं,’ उनले प्रस्ताव पेश गर्दै भने, ‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं।’

महासमिति बैठकमा योसँगै पाँच वटा प्रस्ताव पेश भएका छन्।

उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव र प्रवक्ता समेत रहेका प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव पेश गरेका छन्। त्यस्तै लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेश गरिसकेका छन्।