काठमाडौं उपत्यकाभित्रका नदी तटीय क्षेत्रमा जोखिम, पार्किङ गर्न निषेध

  • मिति : अशोज ९, २०८३
344 Shares

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् । काठमाडौं उपत्यकाका नदीहरूमा पानीको बहाव बढेपछि ट्राफिक प्रहरीले नदी तटीय क्षेत्र तथा करिडोरमा निगरानी बढाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले काठमाडौं उपत्यकाका नदीहरूमा पानीको बहाव बढेपछि नदी किनार तथा करिडोर क्षेत्रमा रोकिएका सवारीसाधन हटाउन अनुरोध गरिएको र आवश्यकताअनुसार हटाउने काम भइरहेको बताएका छन् । उनले ट्राफिक प्रहरीलगायत सुरक्षा निकायले संयुक्त रूपमा नदी तटीय क्षेत्रमा निगरानी गरिरहेको बताए ।

उनले भने, ‘काठमाडौं उपत्यकाको नदीहरूमा पानीको बहाव बढिरहेको अवस्था छ । त्यसले गर्दा अहिले हाम्रो सुरक्षाकर्मीहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायत सबैले संयुक्त रूपमा नै यो नदीको तटीय क्षेत्रहरूमा निगरानी बढाएका छौं । सैसँगसँगै रोकिएका सवारी साधनलाई पनि हामीले हटाउनलाई अनुरोध गरेका छौं, हटाएका छौं ।’

विशेषगरी बागमती र विष्णुमती करिडोरमा सावधानी अपनाउन तथा सम्भव भएसम्म करिडोर सडक प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको उनले बताए । यससम्बन्धी सूचना मेट्रो ट्राफिक एफएममार्फत समेत निरन्तर सम्प्रेषण भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘त्यस्तैगरी विशेषगरी यो बागमती करिडोर, विष्णुमती करिडोरलगायत नदीका करिडोर क्षेत्रमा सकेसम्म बाटो युज नगर्नलाई हामीले सबै सर्वसाधारण नागरिकलाई अनुरोध गरेका छौं । मेट्रो ट्राफिक एफएमबाट पनि हामीले सूचना जारी, सम्प्रेषणहरू गरिराखेका छौं ।’

एसपी सुवेदीका अनुसार हालसम्म काठमाडौं उपत्यकाभित्र यातायात व्यवस्थापनमा ठूलो समस्या देखिएको छैन । सवारीसाधन सामान्य रूपमा सञ्चालन भइरहेका छन् । तर, उपत्यकाबाहिर जाने केही प्रमुख सडकखण्डमा अवरोध रहेकाले ती रुटमा जाने सवारीसाधनलाई काठमाडौंमै रोकिएको छ ।

विशेषगरी बीपी राजमार्ग, कान्ति लोकपथ, दक्षिणकाली–सिस्नेरी सडकखण्ड, पृथ्वी राजमार्गलगायत सडकमा अवरोध रहेकाले ती मार्गबाट सवारी सञ्चालन हुन नसकेको उनले बताए ।

मकवानपुरबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं आउने सवारीसाधन भने सञ्चालनमा रहेका उनले बताए । अत्यावश्यक सामग्री बोकेका सवारीसाधन तथा बाटोमा रोकिएका यात्रु र सवारीसाधनको व्यवस्थापनमा प्रहरीले ध्यान दिइरहेको उनले बताए ।

त्यस्तै टोखा–छहरे हुँदै नुवाकोट जाने तथा साँखुतर्फ जाने सवारीसाधन पनि सञ्चालनमा रहेको उनले बताए । उपत्यकाका विभिन्न नदीमा पानीको बहाव बढे पनि विशेषगरी च्यासल र थापाथली क्षेत्रमा बहाव केही बढेको भन्दै प्रहरीले पैदलयात्रीलाई समेत उक्त सडक प्रयोग नगर्न आग्रह गरेको उनले जानकारी दिए ।