बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

  • मिति : भदौ ११, २०८३
259 Shares

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट निस्किएको टोलीमा पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ, प्रचार विभाग प्रमुख नीरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरुङ छन् ।

त्यसैगरी, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, भूतपूर्व सैनिक/प्रहरी संगठनका अध्यक्ष सहायक रथि विनोद पाण्डे, मोर्चा संगठन प्रमुख विशाल भट्टराई तथा युवा तथा खेलकुद विभाग प्रमुख अमित लामा समेत निरीक्षण टोलीमा सहभागी छन् ।

प्रचार विभाग प्रमुख आचार्यका अनुसार टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण, स्थानीयबासिन्दासँग अन्तरक्रिया गर्ने, स्थानीय तहरुसँग उद्धार तथा राहत वितरणको बारेमा जानकारी लिनेछ ।

यसैगरी, स्थानीय प्रशासनसँग पनि प‍ोखरेल नेतृत्वको टोलीले, उद्धार, राहात तथा पुनर्स्थापनाका बारेमा छलफल गर्ने आचार्यले जानकारी दिए । उनका अनुसार राहात र उद्धारमा खट्न पार्टी कार्यकर्तालाई परिचालन समेत गरिनेछ ।