तेहरान : इरानले स्ट्रेट अफ होर्मुजको व्यवस्थापनसम्बन्धी आफ्नो अडानमा कुनै परिवर्तन नभएको स्पष्ट गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले ओमानसँग राजनीतिक र प्राविधिक तहमा वार्ता जारी रहेको बताए पनि अमेरिकासँग प्रत्यक्ष वार्ताको सम्भावना अस्वीकार गरेका छन् ।
बाघेईका अनुसार ओमानको प्रतिनिधिमण्डलले शुक्रबार र शनिबार तेहरानमा इरानी अधिकारीहरूसँग भेटवार्ता गरेको थियो । उनले वार्तामा केही प्रगति भएको बताए पनि दुवै पक्षबिच हुने संवाद मुख्यतः स्ट्रेट अफ होर्मुजमा समुद्री यातायात कसरी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित रहेको जानकारी दिए ।
इरानी अधिकारीहरूका अनुसार अमेरिका र इरानबिच सन्देशहरूको आदानप्रदान भने मध्यस्थकर्तामार्फत भइरहेको छ । तर, वासिङ्टनसँग कुनै प्रत्यक्ष वार्ता भइरहेको छैन । ओमानले स्ट्रेट अफ होर्मुजको सुरक्षा र सञ्चालनका लागि क्षेत्रीय देशहरूको संयुक्त संयन्त्र गठन गर्ने प्रस्ताव अघि सारेको बताइएको छ । उक्त प्रस्तावअनुसार जहाजहरूले कुनै अतिरिक्त शुल्क नतिरी सुरक्षित रूपमा जलमार्ग प्रयोग गर्न सक्ने व्यवस्था रहनेछ । तर इरानले उक्त प्रस्ताव स्वीकार नगरेको जनाइएको छ ।
स्ट्रेट अफ होर्मुजको व्यवस्थापन इरानकै नियन्त्रणमा रहने प्रणालीको पक्षमा आफू रहेको इरानले दोहोर्याएको छ । इरानको प्रस्तावअनुसार जलमार्ग प्रयोग गर्ने जहाजहरूले सेवा शुल्क तिर्नुपर्ने व्यवस्था हुनेछ । इरानले वार्तामा प्रगति भएको बताए पनि उसका पछिल्ला अभिव्यक्तिहरूले स्ट्रेट अफ होर्मुजको नियन्त्रण र व्यवस्थापनसम्बन्धी तेहरानको नीतिमा कुनै नरमपन नआएको सङ्केत दिएका छन् ।