फरक समूहको भेलाहरूलाई अनौठो रूपमा लिएका छैनौं : विश्वप्रकाश शर्मा

  • मिति : बैशाख १७, २०८३
565 Shares

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका फरक विचार समूहले गरिरहेका भेलाहरूलाई अनौठो रूपमा नलिएको बताएका छन् । पार्टीको संस्थापनइतर समूहहरूले छुट्टाछुट्टै भेला गरिरहेका बेला उपसभापति शर्माको यस्तो अभिव्यक्ति आएको हो ।

‘महाधिवेशनतर्फ अगाडि बढिरहँदै गर्दा कतिपय भेलाहरू, छलफलहरू भइरहेको सुन्नुहुन्छ । लोकतन्त्रमा फरक विचारहरू, फरक समूहरूले गर्न पाउने व्यवस्था छ,’ गृहजिल्ला झापामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसकारणले त्यसलाई हामीले अनौठो रूपमा लिएका छैनौं ।’

पार्टीलाई व्यवस्थित बनाउने, परिमार्जित गर्ने र बदलिएको समयअनुसारको दल बनाउने काममा आफूहरू विषय प्रवेश गरिसकेको उपसभापति शर्माको भनाइ थियो । ‘निर्वाचन आयोगबाट टुंगो लागेर, सम्मानित सर्वोच्च अदालतबाट पनि टुंगो लागिसकेर नेपाली कांग्रेस आफ्नो महाधिवेशनतर्फ अगाडि बढेको छ,’ उनले भने ।

शर्माले पार्टीका अग्रह नेताहरूलाई सँगसँगै लिएर जानुपर्ने र सँगसँगै लैजाने विषयमा आफूहरू गम्भीर र जिम्मेवार प्रयासमा रहेको पनि बताए । ‘हामीहरूहरू के कुरामा गम्भीर र जिम्मेवार प्रयासमा छौं भने हाम्रो उमेर जति राजनीति गरिसक्नुभएका थुप्रै अग्रजहरू हुनुहुन्छ,’ उनले भने, ‘जसलाई सँगसँगै लिएर जानु जरूरी छ । र, हामी लिएर जाने प्रक्रियामा छौं, लिएर जान्छौं ।’

उपसभापति शर्माले प्रतिनिधिसभामा कांग्रेसको भूमिका संयमित, परिपक्व खबरदारीपूर्ण ढंगले रहने पनि बताए । ‘संसदमा नेपाली कांग्रेसको भूमिका संयमित, परिपक्व खबरदारीपूर्ण ढंगले रहन्छ,’ उनले भने ।