रुकम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई छलेर अध्यादेश ल्याउने सरकारको प्रक्रिया अलोकतान्त्रिक भएको बताएका छन् । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले संसद् अधिवेशन स्थागित गरेर अध्यादेश ल्याउने विधि लोकतन्त्र, संवैधानिक मान्यता र संसदीय परम्पराका विरुद्ध भएको भन्दै यस्तो गल्ती नगर्न सरकारलाई चतावनी दिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले सरकारले अहिलेको संवैधानिक व्यवस्था र अन्तर्राष्ट्रिय मान्यतालाई पनि मिचेर ट्रेड युनियन र विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने कुरा निरंकुशतातिरको यात्रा हुनसक्ने भन्दै यसलाई तत्काल रोक्न माग गरे ।
यस्तै, उनले सरकारले सुकुम्बासीको वास्तविक पहिचान र उनीहरुको वैकल्पिक व्यवस्थापन नगरी बल प्रयोगको तरिकाले डोजर लगाएको भन्दै यो कार्य गलत भएको बताए ।
‘सुकुम्बासीको वास्तविक पहिचान र उनीहरुको वैकल्पिक व्यवस्थापन नगरीकन बल प्रयोगको तरिकाले डोजर लगाएर गरिब, निमुखालाई आहत हुने किसिमले जो काम सरकारले गरेको छ, बिलकुल गलत छ ।’ दाहालले भने ।
२१ फागुनमा सम्पन्न आमनिर्वाचन सामान्य र स्वाभाविक नभएको भन्दै संयोजक दाहालले कैयौं ठाउँबाट आएका रिपोर्टले फरक प्रकारको शंका उत्पन्न गराएको बताए ।
‘जित्नुपर्नेले हारेको छ, हार्नुपर्नेले जितेको छ । अनि कति ठाउँमा त आफैले हालेको मतसमेत पनि नपाएका भन्ने सुनियो । यसकारण यो निर्वाचन अरु बेलाको जस्तो सामान्य र स्वाभाविक होइन ।’ उनले भने ।
संयोजक दाहालले आफ्नो पार्टी अब एकताका बाँकी काम सम्पन्न गर्न महाधिवेशनको तयारीमा जुटेको बताउँदै आगामी मंसिर ११ देखि १५ मा महाधिवेशन गर्ने र यसअघि विभिन्न तहका अधिवेशनहरु सम्पन्न गरेर नयाँ तरिकाले अघि बढ्ने योजना रहेको सुनाए ।