तेहरान : इरानमा शनिबारदेखि सुरु भएको युद्धमा १ हजार १ सय भन्दा धेरै मारिएका छन् । अमेरिकी ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजन्सी (एचआरएएनए)ले बताएको भन्दै सीएनएनले छापेको समाचार अनुसार युद्धमा अहिलेसम्म कम्तिमा १ हजार ११४ जना मारिएका छन् ।
मृतकमा १८३ बालबालिका छन् । यीमध्ये अधिकांश १० वर्ष मुनिका छन् । एचआरएएनएले अझै ९०० भन्दा बढी रिपोर्ट भएका मृत्युहरू पुष्टि गर्ने काम गरिरहेको बताइएको छ । अघिल्लो २४ घण्टामा भएका केही आक्रमणले अन्तर्राष्ट्रिय मानवतावादी कानुनअन्तर्गत संरक्षित नागरिक स्थलहरूलाई पनि लक्ष्य बनाएको रिपोर्ट गरिएको छ । आक्रमणमा उच्च माध्यमिक विद्यालय, विभिन्न मेडिकल साइट र क्लिनिकहरूलाई पनि निशाना बनाइएको छ ।
पछिल्लो युद्धमा मृत्यु हुनेहरूको सङ्ख्या गत वर्षको जुनमा भएको १२ दिने युद्धको कुल मृतकसँग नजिकिँदै गएको छ । एचआरएएनएका अनुसार, त्यो युद्धमा इरानमा करिब १ हजार १९० व्यक्तिको मृत्यु भएको थियो । मर्नेमा इजरायल र अमेरिकी सेनाका कारबाही पनि समावेश थिए ।
त्यस्तै, तेहरानका प्रतिशोधी आक्रमणमा मध्यपूर्वका अन्य स्थानमा पनि दर्जनौँ मानिस मारिएका छन् । मर्नेमा ६ अमेरिकी सैनिकसमेत पनि भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।