काठमाडौं । नेपालको पहिलो राष्ट्रिय खाद्य बैंक लिमिटेडले आगामी असोज २५ गते साधारण सभा आह्वान गरेको छ । बैंकको सभा हेरिटेज प्यालेस राधेराधेमा हुने भएको हो । यस सभामा बैंकले महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत गर्ने तयारी गरेको छ ।
सभामा बैंकले आगामी दिनमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने सम्बन्धी प्रस्ताव पेस गर्नेछ । साथै वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र नाफा–नोक्सान हिसाबलगायतका प्रस्ताव पनि अनुमोदनका लागि प्रस्तुत गरिने बैंकले जनाएको छ । यसबाट साधारण शेयरधारकलाई प्रत्यक्ष सहभागिता दिलाउने अपेक्षा गरिएको छ ।
बैंकका संस्थापक अध्यक्ष शंकरनाथ उप्रेतीका अनुसार पूँजी विस्तार र सर्वसाधारणलाई सहभागितामा ल्याउन आईपीओ प्रक्रिया अघि बढाइएको हो । प्रस्ताव पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिने र आवश्यक स्वीकृति लिएर पूँजी संकलन गर्ने तयारी गरेको छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा बैंकले ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । एक अर्ब चुक्ता पूँजी पुर्याउन ७० करोड संस्थापकबाट र बाँकी ३० करोड सर्वसाधारणबाट संकलन गरिने अध्यक्ष उप्रेतीले जानकारी दिए । उनले आईपिओबाट संकलित रकम कृषि क्षेत्रमा लगानी गरिने बताए । हाल खाद्य बैंकले कोशीमा दाना उद्योग सञ्चालन गरिरहेको र थप ६ प्रदेशमा पनि विस्तार गर्ने योजना रहेको उनले बताए ।
आईपीओ प्रतिकिता एक सय रुपैयाँ कायम गर्ने तयारी छ । साथै बैंकले तेल मिल सञ्चालन गर्ने योजना समेत अघि सारेको छ । यससँगै बैंकले स्थानीय सरकारसँग समन्वय गर्दै कृषि क्षेत्रलाई मजबुत बनाउनुपर्ने आफ्नो लक्ष्य स्पष्ट पारेको छ ।
