आजको मौसम : यी पाँच प्रदेशमा मध्यम वर्षा

  • मिति : भदौ १७, २०८२
2.1K Shares

काठमाडौं, १७ भदौ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ । जसका कारण, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।