राष्ट्रबैङ्कका कडाई निती खुकुलु बनाउने पक्षमा अर्थमन्त्री पुन , गभर्नर सँग मिलेर अघि बढ्ने

1.3K Shares

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री र नेपाल राष्ट्र बैंक प्रतिस्पर्धी नभएको बताएका छन्।

शनिबार राष्ट्रिय वाणिज्य बैंकले राजधानीमा गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायनमान बनाउनुपर्ने बताएका हुन्।

सरकार र राष्ट्र बैंक दुवैले जनताको अपेक्षा, आकांक्षा एवं संविधानले दिशानिर्देश गरेअनुसारका कानुन र नियमावलीभित्र बसेर काम गर्ने भएकाले एकअर्कालाई आरोपित गर्नु गलत भएको उनको भनाइ थियो। पुनले सरकार र राष्ट्र बैंकबीच रचनात्मक, सहयोगात्मक र आपसी समन्वयात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिए। राष्ट्र बैंक मौद्रिक नीतिमार्फत सरकारको वित्तीय नीति कार्यान्वयन गर्ने निकाय भएकाले एकअर्कामा समन्वय नभए त्यसको असर मुलुकको समग्र अर्थतन्त्रमा पर्ने उनले उल्लेख गरे।

‘जहिले पनि अर्थमन्त्री र गभर्नरलाई प्रतिस्पर्धीजस्तो बनाउने गरिएको छ’, पुनले भने, ‘यो कसरी हुन सक्छ? हामी एकअर्कामा झगडा गर्ने र आफूलाई माथि देखाउन अरुको गल्ती औंल्याउने होइन। यो व्यक्तिगत नभई राज्य सञ्चालनको विषय भएकाले जहाँ समस्या हुन्छ, त्यहाँ मिलेर काम गर्ने हो।’ लोकतन्त्रमा समस्या आए संवाद गर्ने हो। ठूलाठूला युद्धमा रहेका देशले त संवाद गर्छन्। प्रतिस्पर्धीबीच पनि संवाद हुन्छ। हामी प्रतिस्पर्धी होइनौं नि?’ उनले भने।

पुनले हाल बजारमा पर्याप्त तरलता (लगानीयोग्य रकम) भएकाले विगतमा तरलता अभाव भएका बेला ल्याइएका कठोर नीतिमा लचकता अपनाउन राष्ट्र बैंक नेतृत्वलाई आग्रह गरे।