स्रोत नखुलेको १४ लाख रकमसहित एकजना पक्राउ

  • मिति : फाल्गुन १८, २०८०

काठमाडौं । प्रहरीले सर्लाहीबाट स्रोत नखुलेको १४ लाख १० हजार रुपैयाँ नगद बरामद गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका १४ स्थित लखन्देही खोलामा प्रहरी चौकी पथ्थरकोटबाट खटिएको गस्ती टोलीले स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले  प्र.२–०३–०११ प ८३५७ नम्बरको २२० सि.सि. को पल्सर मोटरसाइकलमा अवैध रूपले स्रोत नखुलेको नगद १४ लाख दश हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरिएको बताए । एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा मोटरसाइकल चालक लालबन्दी १४ का ४६ वर्षका धनबहादुर पाख्रिन छन् । प्रहरीले उक्त रकम हुन्डी कारोबारीको हुनसक्ने अनुमान गरेको छ ।