अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

  • प्रकाशित मिति : February 21, 2024
  • नयाँ सवाल

काठमाण्डाै । अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २५औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को नारा “बहुभाषी शिक्षा अन्तरपुस्ताको शिक्षाको स्तम्भ हो” भन्ने रहेको छ ।

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने २०६६ सालदेखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।

दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मातृभाषामा विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएका छन् । दिवसको सन्दर्भमा आदिवासी जनजाती साहित्यकार/लेखक महासंघ, दक्षिण कोरियाको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा उत्सव–२०२४’ आयोजना भएको छ ।

अस्ति फागुन १९ देखि सुरु भएको उत्सव यही फागुन २५ गतेसम्म चल्ने छ । यसैगरि  आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यस वर्षको ‘मातृभाषा राष्ट्रिय सेवा पुरस्कार’ जनकवि दुर्गालाल श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।

मातृभाषाको माध्यमबाट नेपाली साहित्यको उत्थान र विकासमा पुर्याएको योगदानको कदर गर्दै जनकवि श्रेष्ठलाई  एक लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानकी अनुसन्धान अधिकृत सरिना गुरुङले जानकारी दिनुभयो । नेवारी भाषामा धेरै साहित्य सृजना गर्नुभएका गीतकार श्रेष्ठले लेख्नुभएको ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ गित लोकप्रिय छ ।

यसैबीच, भाषा आयोगको प्रतिवेदन २०७६/७७ अनुसार नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १ सय ३१ पुगेको छ । यस्तै विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको अवस्था छ । मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिइएको छ ।