काठमाण्डाै । ऋण तिर्नुपर्दैन, मिनाहा हुन्छ भन्दै चलेका हल्ला र अभियानले ऋणी अन्योलमा परेका छन् । देशकै अर्थतन्त्र मन्दीमा हुँदा अरु क्षेत्रसहित लघुवित्त संस्थाको कारोबारमा पनि समस्या देखिएको छ । केही व्यक्ति र समूहले ऋण तिर्नु पर्दैन भनेर चलाएको अभियानका कारण लघुवित्तको कर्जा असुलीमा समस्या र जोखिम बढेको छ । अहिले देशभर ५७ वटा लघुवित्त संस्थाहरु छन् ।
यस्तै, लघुवित्त संस्था सञ्चालन गर्ने ५० वटा सहकारी संस्थाहरु पनि छन् । यी लघुवित्तका ५ हजार ८२ शाखामा ५९ लाख ५१ हजार जना सदस्य छन् । यीमध्ये ९६ प्रतिशत हाराहारी सदस्य त महिला मात्रै छन् । झण्डै २९ लाख जना ऋणी रहेको लघुवित्त क्षेत्रको खराब कर्जा झण्डै साढे ६ प्रतिशत पुग्न थालेको छ ।
अहिलेसम्म लघुवित्त संस्थाहरुबाट ४ खर्ब ३४ अर्ब रुपैया ऋण प्रवाह भएकोमा झण्डै २७ अर्ब रुपैयाँ बेलैमा उठेको छैन। ऋण तिनुपर्दैन भनेर विभिन्न व्यक्ति र समूहले चलाएको अभियानका कारण पनि यस्तो समस्या आएको तर ऋण नतिर्ने अभियान चलाउनेका कुरा नपत्याउन लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवको आग्रह छ ।
गरिबी कम गर्न, स्थानीय स्तरमा लघुउद्यम र स्वरोजगार बनाउने तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न लघुवित्तकै ठूलो हात छ । धेरै विषय सकारात्मक हुँदाहुँदै पनि लघुवित्तमा समस्या देखिन थालेको छ।
ऋण बेलैमा तिर्न अनि अहिले भैरहेका अनेक आन्दोलनमा नलाग्न सरकारको आग्रह छ । ऋण नतिर्नु बैंकिङ अपराध भएको र त्यस्ता हल्ला र अभियान चलाउनेलाई कारबाही गर्ने अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले चेतावनी दिनुभएको छ ।