असइ थमन विक हत्या प्रकरण : फरार सांसद शर्माको सेवा–सुविधा रोक्का

  • प्रकाशित मिति : February 8, 2024
  • नयाँ सवाल

काठमाडौँ । सशस्त्र प्रहरी बलका असइ थमन विकको हत्या मुद्दामा जन्मकैद सजाय पाएका लोसपाको मधेश प्रदेश सभा संसदीय दलका नेता अभिराम शर्माको सेवा–सुविधा रोक्का भएको छ । माघदेखि सांसद शर्माको सेवा–सुविधा रोक्का गरिएको मधेश प्रदेश सभा सचिवालयले जनाएको छ ।

महोत्तरी जिल्ला अदालतको २८ मंसिरको इजलासले असइ विकको हत्या प्रकरणमा शर्मासहित सातजनालाई जन्मकैद फैसला सुनाएको थियो । प्रदेश सभा सचिवालयले १४ माघमा एक व्यक्तिले सांसद शर्माविरुद्ध अदालतले गरेको जन्मकैदको फैसलासहित सेवा–सुविधा तथा पद निलम्बनसहितको उजुरी दिइएपछि सचिवालयले उनको सेवा–सुविधा रोक्का गरेको हो । शर्माले पुस मसान्तसम्मको सेवा–सुविधा पाइसकेका छन् ।

सांसद पदबाट अझै भएनन् निलम्बन 
सेवा–सुविधा रोकिए पनि सांसद पदबाट उनी अझैसम्म निलम्बनमा भएका छैनन् । अदालतबाट फैसलासहितको पत्र सचिवालयमा आएपछि वा फैसला उच्च अदालत जाने म्याद समाप्त भएपछि मात्र शर्मालाई निलम्बन गर्न सकिने प्रदेश सभामुख रामचन्द्र मण्डलले बताए । जिल्ला अदालतको फैसला आएदेखि शर्मा फरार छन् । शर्मा फरार अवस्थामा रहे पनि उनलाई लोसपाले संसदीय दलको नेताबाट हटाएको छैन ।

शर्मा महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको प्रदेश सभा १ बाट मधेश प्रदेशमा दोस्रोपटक प्रत्यक्ष निर्वाचित भएका हुन् । यसअघि ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका शर्मा मुख्यमन्त्री लालबाबु राउतको सरकारमा सामाजिक विकास राज्यमन्त्रीसमेत थिए ।