पार्टीहरुप्रति जनताको निराशा बढ्दै गएको छ : गगन थापा

रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीहरुप्रति जनताको निराशा बढ्दै गएको बताएका छन् । ‘आम नागरिकमा निराशा छाएको छ, पार्टीप्रति वितृष्णा बढ्दैछ,’ उनले भने, ‘यस्तो अवस्थामा नेपाली कांग्रेस जनताको समस्या र दु:ख बुझ्न समुदायमा जाने अभियानमा लागेको छ ।’

रौतहटको दुर्गा भगवती गाउँपालिका-१ गंगापिपरामा शुक्रबार आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले जनतामा बढ्दै गएको निराशालाई चिर्न ग्रासरुटमा बसोबास गर्ने आम नागरिकको समस्या बुझेर समाधानको प्रयासमा कांग्रेसले समुदायमा जाने अभियान संचालन गरेको बताए । जनताका वास्तविक समस्याहरु के-के छन् त्यही बुझ्न कांग्रेस समुदायमा जान मेचीदेखि महाकाली यात्रा प्रारम्भ गरेको उनले जानकारी दिए । ‘समुदायमा जाऔं, नागरिकका कुरा सुनौं’ भन्ने अभियानले कांग्रेस बलियो हुने उनको तर्क थियो ।

कार्यक्रममा नागरिकद्वारा उठाइएको सबालको जवाफ दिँदै महामन्त्री थापाले मधेशको प्रमुख समस्या कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारको समुचित रुपमा सम्बोधन र व्यवस्थापन नभएको हुँदा आम मानिसमा निराशा छाएको बताए । संघ र प्रदेश सरकारमा कांग्रेस सहभागी रहेको हुँदा २०८० सालमा जनताको निराशालाई आशामा परिणत गराउँदै मिशन ८४ कांग्रेसमय बनाउने अभियानमा लाग्नु पर्ने महामन्त्री थापाले सुनाए ।

महामन्त्री थापाले चुनावका बेला गरिने गठबन्धनले जनताको आशा र भरोसा माथि तुषारापात भएको सुनाए । ‘गठबन्धनका नेताहरु निर्वाचन पछि क्षेत्रमा फर्केर नआउने प्रवृत्तिका कारण मतदाताहरु दु:खी छन्,’ उनले भने, ‘कांग्रेस बलियो भएमा मात्रै लोकतन्त्र सुरक्षित हुन्छ । यही मूल्य मान्यतालाई शतप्रतिशत पूरा गराउन संगठनलाई बलियो बनाउँदै लैजानु पर्छ ।’

नागरिक संवाद कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, मधेश प्रदेश सभापति एवं भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलगायतका नेता उपस्थित थिए ।