पछिल्ला तीन दिनमा सुदूरपश्चिममा ९ व्यक्तिमा कोरोना संक्रमण पुष्टि

  • मिति : पुस २८, २०८०
529 Shares

कैलाली । पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भारतबाट नेपाल भित्रनेहरूको एन्टिजेन परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार तीन दिनमा ४६४ व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो । तीन दिनयता प्रदेशका सीमानाका गौरीफन्टा, गड्डाचौकी, जुलाघाट र पुलघाट नाकाबाट एक हजार ४४४ व्यक्ति नेपाल भित्रिएका छन् ।

कोरोना संक्रमित आठ व्यक्तिको नमुना संकलन गरी थप परीक्षणका निम्ति क्षेत्रीय प्रयोगशालामार्फत केन्द्रमा पठाइएको थियो ।

गौरीफन्टा सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले कोरोनाभाइरसका संक्रमित फेरि भेटिन थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सुझाव दिए । “सीमानाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ,” उनले भने, “हेल्थ डेस्कमा नमुना परीक्षणका लागि आवश्यक स्वास्थ्यकर्मी, एन्टिजेनको किट, मास्क ग्लब्सलगायत सामग्री पर्याप्त छन् ।”

उनले संक्रमितलाई होम आइसोलेसनमा बस्न र सिकिस्त भएको अवस्थामा अस्पताल जान सल्लाह दिइएको र सम्बन्धित पालिकासँग समन्वय गरिरहेको जानकारी दिए ।