गायक चेतन राईको पाँचौँ गीति सङ्ग्रह ‘स्पिड’ सार्वजनिक

  • मिति : अशोज ६, २०८२
733 Shares

काठमाडौं । गायक तथा सङ्गीतकार चेतन राईको पाँचौँ गीति सङ्ग्रह ‘स्पिड’ र त्यस अन्तर्गतको म्युजिक भिडियो ‘हाँसिदेउन’ राजधानीमा आयोजित समारोहमा सार्वजनिक गरिएको छ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार राजु सिंह, गीतकार लोकराज अधिकारी र सङ्गीतकार सन्तोष श्रेष्ठ लगायतले एल्बमको विमोचन गरेका थिए। प्रमुख अतिथि राजु सिंहले चेतनलाई बहुप्रतिभाशाली कलाकार भन्दै उनको मौलिकता र मेहनतको प्रशंसा गरे।

गीतकार अधिकारीले चेतनसँगको तीन दशकअघिको सहकार्य स्मरण गर्दै गर्व व्यक्त गरे भने सङ्गीतकार श्रेष्ठले चेतनलाई मौन तर कर्मशील स्रष्टा भनेर वर्णन गरे।

‘हाँसिदेउन’ गीतको भिडियोमा सुजन सुवेदी र ज्योति खड्काको अभिनय रहेको छ। भिडियोलाई स्वयं चेतनले निर्देशन गरेका हुन्। गीतमा लोकराज अधिकारीको शब्द, सबिर कार्कीको सङ्गीत संयोजन र राज धामीको सम्पादन रहेको छ।

चेतन राईले श्रोताको माया र साथले आफूलाई निरन्तर प्रेरित गरिरहेको बताउँदै सङ्गीतलाई आफ्नो जीवनको आत्मा भनेका छन्।