नेपालमा जलविद्युतको अपार सम्भावना छ : मन्त्री भण्डारी

  • मिति : भदौ १३, २०८२
5.3K Shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा शुक्रवार नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री भण्डारी विद्युत्को सम्भावनासँगै विद्युतीय सामग्रीहरूको प्रयोग पनि त्यत्तिकै बढिरहेको बताएका हुन् । उनले नेपालले विद्युत् छिमेकी देशमा पनि बेच्न सक्ने र विद्युतीय सामग्रीको प्रयोग अझ बढाउन सक्ने बताए ।

उनले भने, ‘हाम्रो उत्पादनलाई वृद्धि गर्ने कुरा स्वाभाविक रूपमा हुन्छ । यसको खपत हुन्छ, यसको बजार निश्चित छ, आजको इलेक्ट्रिसिटीको जति आवश्यकता छ यसले हाम्रो सम्भावनालाई बल पुर्‍याउँछ । आएका सबै स्वदेशी, विदेशी कम्पनीहरूलाई नेपालमा स्वगत गर्दछौँ । निजी क्षेत्रबाट भइरहेको यो प्रयासलाई सरकारले विभिन्न किसिमको सहयोग गरिरहेको छ । यो सम्भावनासँगै यसको राम्रो भविष्य छ भन्ने म ठान्छु ।’

मन्त्री भण्डारीले आजको बजारमा वस्तुहरूको उत्पादन र बजारीकरणको होडबाजी रहेको उल्लेख गर्दै आफ्नो उत्पादनको बजारीकरण गर्ने होडबाजी रहेको बताए । उक्त प्रतिस्पर्धामा नेपालका कम्पनीहरू पनि रहेको उनले जिकिर गरे । उनले सरकारको तर्फबाट लगानी सहजीकरण गर्न र नीतिमा पनि सहुलियत दिएर प्रोत्साहित गरिरहेको बताए । शुक्रबारदेखि सुरु भएको प्रदर्शनी आइतबारसम्म सञ्चालन हुनेछ ।