खेटराज दाहाल , काठमाडौं । विगत केही वर्षयता नेपाली साहित्यको बजार विविध विधाका कृतिहरूले भरिएको छ । उपन्यास, कविता, नियात्रा, संस्मरण, नाटकदेखि कथा सङ्ग्रहसम्म दिनहुँ पुस्तक विमोचनको खबर आउँछ । तर त्यही भीडभाडभित्र पनि कहिलेकाहीँ यस्ता कृति हात पर्छन्, जसले पाठकको हृदयसम्म छोइहाल्छ । झम्क तिमल्सिनाद्वारा लिखित उपन्यास ‘विमुक्ति’ त्यही श्रेणीमा पर्छ ।
पुस्तक किनियो – साथीको मन राख्न, दस्तखत गराइयो – सम्झनाका लागि, र पढ्न थालियो – एकप्रकारको सामाजिक वाध्यताले । तर पढ्न थालेपछि पाना पल्टिरहने हात अनायास रोकिएनन् । ‘विमुक्ति’ ले केवल कथा सुनाउँदैन, त्यो पाठकलाई कथा भोग्न लगाउँछ ।
समाजको सजीव चित्र
‘विमुक्ति’ वर्तमान नेपाली समाजको एउटा गम्भीर यथार्थलाई उजागर गर्ने कृति हो । बढ्दो परदेश मोह, अभिभावकविहीन घर, वृद्धावस्थाको एक्लोपन र सम्बन्धको बदलिँदो स्वरूपजस्ता विषयहरूलाई उपन्यासले प्रभावकारी ढङ्गमा उठाएको छ ।
कथाका पात्र तेजमान, उनका छोरा–बुहारी, सुसारे लक्ष्मी र वृद्धाश्रममा भेटिएका विविध पात्रमार्फत लेखकले नेपालका शहरी मध्यवर्गीय परिवारभित्रका सूक्ष्म भावनात्मक द्वन्द्वहरू चित्रण गरेका छन् । जब सन्तान आफ्नै जीवनको दुनियाँमा अल्झिन्छन्, तब आमा–बुबाको जीवन कसरी सुनसान बन्छ भन्ने कुरालाई पुस्तकले गहिराइमा गएर उजागर गरेको छ ।
डायरी शैलीमा कथा
उपन्यासको झण्डै ७५% अंश तेजमानले मृत्युको पूर्वसन्ध्यामा लेखेको डायरी हो, जसले कथालाई आत्मीय र सजीव बनाएको छ । उक्त डायरीमार्फत केवल तेजमानको भोगाइ मात्र होइन, नेपालको सामाजिक इतिहास, चाडपर्वको रूपान्तरण, पुस्तान्तरको द्वन्द्व, नारी पात्रहरूको पीडा, स्वदेश–परदेशको दूरी आदि विषयमा बहस गरिएको छ ।
डायरी अधुरो रहन्छ – जसरी जीवन अधुरो रहन्छ । लेख्न खोजिएको अन्तिम वाक्य लेखिँदैन । यही अपूर्णता नै उपन्यासको बलियो पक्ष हो – जसले पाठकलाई गहिरो चिन्तनमा डुबाउँछ ।
कथाको त्रिभुज संरचना
उपन्यासको संरचना रोचक छ – पात्रको दृष्टिकोणबाट हेर्दा उपन्यास त्रिभुजाकार देखिन्छ । एक कोणमा वृद्ध तेजमान छन्, अर्का कोणमा उनीको सुसारे लक्ष्मी, र तेस्रो कोणमा छोरा, जसले डायरी पढेर बुबाको भावनात्मक संसारसँग साक्षात्कार गर्छ । यी तीनवटै पात्र प्रमुख जस्तै लाग्छन्, तर कसैलाई पूर्ण न्याय नपाएको अनुभूति पनि आउँछ ।
विशेषगरी सुसारे लक्ष्मीको त्याग, समर्पण र अन्तिममा गरेको निर्वासनजस्तै निस्कासन पाठकको मनमा प्रश्न छाडेर जान्छ । ऊ उपन्यासको आदर्श पात्र हुनसक्ने सम्भावना बोकेकी थिइन्, तर उनको अन्त्य अलिकति अस्पष्ट रहन्छ ।
पाठकलाई सोच्न बाध्य पार्ने कृति
‘विमुक्ति’ एक यस्तो कृति हो, जसले पाठकलाई कथाभित्रै कतै उभ्याइदिन्छ । कतिखेर पात्रसँग सहानुभूति हुन्छ, कतिखेर त लाग्छ – यो कथा त मेरो पनि हो ! मधेसदेखि काठमाडौं, काभ्रे, मकवानपुर, डोटी हुँदै अमेरिका… भूगोल फरक होलान्, तर भावनाहरू उस्तै छन् – एक्लोपन, प्रतीक्षा र सम्बन्धको क्षीणता ।
उपन्यासको भाषा सरल छ, शैली आत्मीय छ, र कथा बहुआयामिक । प्रेम र रोमान्सको पुट अलिअलि देखिए पनि कथा करुण भावले भरिएको छ । कमजोर आँखा भएका पाठकका लागि त कतै–कतै आँसु थाम्न गाह्रो पर्न सक्छ ।
निष्कर्ष: विमुक्ति – केवल उपन्यास होइन, अनुभव हो
‘विमुक्ति’ उपन्यास नेपाली समाजका लाखौँ वृद्ध आमाबाबुको यथार्थ बोकेको कृति हो । यो केवल साहित्यिक सिर्जना होइन, हाम्रो सामूहिक संवेदना हो । सन्तानको प्रतीक्षामा बितेको जीवन, वृद्धावस्थाको एक्लोपन, पुस्तान्तरणको मनोविज्ञान, र परदेशको छटपटिका कथाहरू समेटिएको यो उपन्यास सबै उमेरका पाठकले पढ्नैपर्ने कृति हो ।
विदेश जाने सपना बोकेका युवायुवती, परदेशमै रमाइरहेका नेपाली, अनि घरको कुना कुनामा मौन बसेका आमाबाबु सबैले यो पुस्तक पढ्न जरुरी छ ।
प्रतिक्रिया को लागी [email protected]
