काठमाडौँ । आज सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने भएको हो । चैत २१ गते घोषणा भएको मोर्चाको बैठक लोसपा नेपालको कार्यालयमा बस्ने जनता समाजवादी पार्टी नेपालका महासचिव एवं मोर्चाका सचिवालय सदस्य रामकुमार शर्माले बताए । मोर्चाको यो पहिलो औपचारिक बैठक हो । बैठकमा मोर्चामा सहभागी सात दलका अध्यक्षसहित अन्य पदाधिकारीहरू सहभागी रहने बताइएको छ । बैठकले अगामी कार्यदिशा तथा कार्यक्रमहरू तय गर्ने महासचिव शर्माले बताए ।
वैशाख २४ गते बसेको मोर्चाको अनौपचारिक बैठकले चार बुँदे निर्णय गरेको थियो । भारत र पाकिस्तानबिच तनाव बढिरहेका बेला मोर्चाले भारतले चालेको आतङ्कवाद विरुद्धको कदममा साथ दिएको थियो । मोर्चाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको घटनाको निन्दा गर्दै सो घटनामा संलग्नलाई कारबाही गर्न माग समेत गरेको छ । मधेस जनविद्रोह, जनआन्दोलन, किराँत लिम्बुवान आन्दोलनलगायतका आन्दोलनका क्रममा मुद्दा लगाई जेलमा राखिएका राजबन्दीहरूलाई विना सर्त रिहाइ तथा झुटा मुद्दा लगाइएकाहरूको मुद्दा खारेज गर्न समेत मोर्चाले माग गरेको थियो ।
सरकारद्वारा विभिन्न आन्दोलनरत पक्षसँग विभिन्न समयमा गरिएका सम्झौताहरूलाई तत्काल कार्यान्वयन गर्न पनि मोर्चाले माग गर्दै आएको छ । मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा रहेका छन् ।