कर्णाली प्रदेशको बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरु

कर्णाली, २२ वैशाख । कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन यही वैशाख २८ गतेदेखि सुरु हुने भएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष प्रदेशसभा बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारद्वारा आह्वान गरिएको अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्नेछ ।

त्यसका निम्ति प्रदेश सरकारले बजेटको दायरा बढाउने गरी नीति तथा कार्यक्रमलाई तीव्रता दिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ ।